९ आश्विन २०७९, आईतवार - Sunday 25 September 2022

  • Advertisement skip this

    उजिरसिंह रनिङ क्रिकेट प्रतियोगितामा बाउन्नकला विजयी

    बुटवल । उजिरसिंह रनिङ एकदिवसीय क्रिकेट प्रतियोगिता–२०७८ अन्तरगत आइतबार भएको खेलमा बाउन्नकला क्रिकेट एकेडेमी विजयी भएको छ । बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समिति र रुपन्देही क्रिकेट संघको सहयोगमा जारी प्रतियोगितामा बुटवल राईनोज क्रिकेट क्लबलाई १ सय २४ रनले पराजित गरेको हो।

    टस जितेर ब्याटिङ रोज्दै मैदान प्रवेश गरेको बाउन्नकलाले ३५ ओभरमा १ सय ६२ रनको लक्ष्य खडा गरेको थियो । बाउन्नकलाका महेश रानाले ४४ र मौसम ढकालले २८ रन बनाए । बुटवल राईनोजका अस्लम अलि र सन्जीव बोहराले समान २–२ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको बुटवल राईनोजका ब्याट्सम्यानहरु केवल १४ दशमलव १ ओभरमा ३८ रनमा समेटियो । उसका लागि सन्जीव बोहराले ९ तथा सुभाष वि.क.ले १० रन जोडेका थिए । कम स्कोरमा रोक्न बाउन्नकलाका विष्णु कठरिया र कृष्ण पराजुलीले समान ३–३ तथा मौसम ढकालले २ विकेट लिएका थिए । बाउन्नकलाका मौसम ढकाल खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

    वर्षाको कारण ३ दिन प्रभावित भएको खेल आइतबारदेखि सुचारु भएको समितिका सचिव पुनित पोखरेलले बताए । सोमबार न्यू होराईजन क्रिकेट क्लब र महाबिर क्रिकेट क्लबका बीच खेल हुने उनले बताए ।

    प्रतियोगितामा बेष्ट्रन क्रिकेट क्लब, बेष्ट्रन क्रिकेट एकेडेमी, बुटवल युथ स्र्पोटस क्लब, जिआर क्रिकेट एकेडेमी, न्यू होराईजन क्रिकेट क्लब, महाबिर क्रिकेट क्लब, बुटवल राईनोज क्रिकेट क्लब, बाउन्न कला क्रिकेट एकेडेमी, गोलपार्क क्रिकेट क्लब र बुटवल–११ क्रिकेट क्लब गरी १० टिमले भाग लिएका छन् ।

    Comment

    लोकप्रिय